बागलुङ नगरको बजेट परम्परागत र एकाङ्की खालको भयो नेकपा एमाले

  • असार १२, २०८२

बागलुङ-  बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को बजेट परम्परागत, जनविरोधी र एकाङ्की खालको भएको भनी नेकपा एमाले बागलुङ नगरकमिटीले ध्यानकर्षण गराएको छ । विहिबार पत्रकार सम्मेलन मार्फत एमाले बागलुङ नगरकमिटिका अध्यक्ष रामकृष्ण शर्माले नगरपालिकामा प्रस्तुत गरिएको बजेटले सम्पुर्ण नगरवासी जनताको आकाक्षां र विकास प्रतिको विश्वास माथि निराशा सिर्जना गरेको बताएका छन । 
नगरपालिकामा पदाधिकारी मिलेर अनियमितता साथै नगरभित्रका बेथिती, व्यक्तिवादी काम र खर्चको चाङले जनताको काममा बेवास्ता गरिएको आरोप एमालेको आरोप रहेको छ । 

एमालेले महालेखा परीक्षकको कार्यालयले औंल्याएका बेरुजुलाई अनियमितता भएको भन्दै  नगरपालिका कांग्रेसको मात्र नभई सबै जनताको बन्नुपर्ने समेत सुझाव दिएको हो । शर्माले जिरो वेस्ट कार्यक्रमका लागि ५१ लाख ६७ हजार खर्च गरेको तर कुनैपनि काम नभएको नभएको टिप्पणी गरे । सोही ठाउँको जग्गा व्यवस्थापन गर्न ८७ लाख ९१ हजार रुपैयाँ खर्चेको समेत औल्याए ।

त्यस्तै कृषि ज्ञान केन्द्रको जमिनमा नगरप्रमुखको कार्यकक्ष बनाएको, ५१ लाख खर्चेर भवन बनाएको, अधिकार क्षेत्रभन्दा बाहिर गएर कर्मचारी दायित्व सिर्जना गरी रकम खर्चेको, खाना र बिविध खर्चमा ४२ लाख खर्चेको, अध्ययन र परामर्शको नाउँमा ९२ लाख खर्चेको आरोप लगाइएको छ । प्रमाण कागज पेश नगरी ३५ लाख रुपैयाँ हिनामिना गरेको, महालेखाको स्विकृति बेगर आर्थिक अनियमितता गर्ने कुचेण्टा स्वरुप साँग्रिला इन्फरमेटिभ प्रालिको लेखा सफ्टवेयर प्रयोग गरेको आरोप छ । आन्तरिक राजश्व उठाउने लक्ष्य राखेर ३२ प्रतिशत मात्रै उठाइ सोही सफ्टवेयरको दुरुपयोग गरोको शर्माले आरोप लगाएका छन् ।

विद्यालय पुस्तकालयका नाउँमा ४५ लाख ५० हजार खर्चेको तर सामुदायिक शिक्षालाई गुणस्तर सुधार गर्न नसकेको, बागलुङ नगरपालिका ९ मा ब्लुहिल पर्यटकीय क्षेत्रको नाउँमा ३ करोड खर्चेर वन विनास गरेको एमालेको आरोप छ । नगरपालिकामा ३८ करोड बेरुजु रहेको र जुन अनियमितताको पराकाष्ठा भएको पनि शर्माले आरोप लगाए ।

एमालेको आरोपबारे नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आँफूले पदबहाली गर्ने बेलामा झण्डै २६ करोड बेरुजु रहेको र अहिले थप भएको बताए । जिरो वेस्ट कार्यक्रमका लागि फोहोर संकलन गर्न घरघरमा बाल्टी बितरण भएको, जग्गा व्यवस्थापन गरेर पुरानो डम्पिङलाई सफा बनाइएको र नयाँ पर्खाल लगाएको खर्चको लेखा परीक्षण गर्न बाँकी रहेको बताए । नगरपालिका संचालन गरेको लेखा सम्बन्धी सफ्टवयर पुर्व नगरप्रमुख जनकराज पौडेलकै पालामा संचालन गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी 
विद्यालय पुस्तकालयको बजेट सिधै विद्यालयकै खातामा पठाएको लेखा शाखाले जानकारी दिएको छ । बरु बेरुजुमध्ये अघिल्लो कार्यकालमा बलेवा विमानस्थल बनाएर संचालन गर्दाको रकम असुलउपर गर्नुपर्ने देखिएकोमा अहिलेसम्म पत्र काट्न नसकेको श्रेष्ठले बताए । अनियमितताबारे राम्रो छानविन गरिदिन उनले आग्रह पनि गरे । पार्टीले चाहेमा सिंगो पार्टीपंक्तिलाई स्रेस्ता दिएर रुजु गर्न लगाउने श्रेष्ठको भनाई छ । 
पत्रकार सम्मेलनमा बीपी स्मृति भवन भनेर कांग्रेसले पार्टी कार्यालय बनाउन बजेट ल्याएको भन्दै त्यो फिर्ता गर्न माग गरिएको थियो । ‘हिजो एमाले लगायतका दलले पनि नेताको नाउँमा खर्च गरेका भए त्यो गलत हो, राज्यले यो सम्मको बेथिती गर्न भएन’ शर्माले भने, ‘संघिय सरकारले विनियोजन गरेको भएपनि माग त यहिंबाट गरिएको हो ।’

नगर प्रमुख बसन्तकुमार श्रेष्ठले नगरको बजेटमा बेथिती गरेकोले सच्याउन माग गरेको समेत शर्माले बताए । पटक पटक सुझाव दिंदा पनि सच्चिन तयार नभएकोले पत्रकार सम्मेलन गरेर बेथिती, अनियमितता र भ्रष्टाचारको विषय उठाएको उनको भनाइ छ । 

 

 

प्रतिक्रिया