बागलुङ- बागलुङ नगरपालिका—९ तित्याङ निवासी टेकबहादुुर खत्रीको जीवन बचाउन आर्थिक सहयोगको अपिल गरिएको छ । सामान्य आर्थिक अवस्था भएका खत्री क्यान्सर रोगबाट प्रताडित भएकाले अहिले भारतमा उपचारमा छन् । एब्डोमिनल क्यान्सरबाट पीडित भएका उनको उपचारमा अहिलेसम्म ठूलो आर्थिक खर्च भैसकेको र थप उपचारका लागि अझ बढि रकम आवश्यक पर्ने भएकाले सहयोगको अपिल गर्नु परेको टेबहादुर खत्री बचाऔं अभियानका संयोजक हरिबहादुर खत्रीले बताए ।
‘इमानदार मिलनसार सामाजिक व्यक्ति टेकबहादुर अहिले स्वास्थ्यको जटिल समस्याले भारतमा उपचारमा हुनुहुन्छ,’उनले भने,‘घरको आर्थिक अवस्थाले अब उपचार सम्भव नभएपछि हामीले सहयोग अभियान सञ्चालन गर्नुपर्ने बाध्यतामा पुगेका छौं । देश विदेशमा रहनुभएका सबै महानुभबाट सहयोगको अपेक्षा छ ।’ खत्रीको अहिले भारतको राजिब गान्धी क्यान्सर अस्पतालमा उपचार सुरु भएको उनीका धर्मपत्नी सरस्वती खड्का खत्रीले बताईन् ।
‘पहिले पोखरामा चेक गरियो, त्यसपछि चितवन भरतपुरमा पनि चेक गरियो, अहिले भारतमा राजिव गान्धी अस्पतालमा उहाँको उपचार भैरहेको छ,’उनले भनिन्,‘अहिलेसम्म १८/२० लाख रुपैयाँ खर्च भैसकेको छ । अरु उपचारका लागि ६० लाख भन्दा बढि खर्च हुने भनिएको छ । आम्दानीको स्रोत केही छैन । सबैले सहयोग गरिदिनुभयो भने उहाँको ज्यान बाँच्थ्यो ।’ परिवारको मियो नै बिरामी भएर थला परेपछि समस्या परेको उनको भनाई छ । ‘छोराछोरी भर्खर पढ्दैछन्, कमाउने मान्छे उहाँ नै हुनुहुन्थ्यो । रोगले च्यापेपछि उपचारखर्च र घरखर्च चलाउन कठिन भयो । उपचार खर्च धान्नै नसक्ने भएपछि सहयोगको माग्नुपरेको हो,’उनले भनिन् ।
उपचार सहयोग अभियानका लागि खत्रीको एसबीआई बैंक बागलुङ शाखामा रहेको खाता नम्बर १९७१५२४१४०७३२० मा सहयोग रकम जम्मा गर्न सकिनेछ । सहयोग गर्न चाहानेले खत्रीकी धर्मपत्नी सरस्वती खड्का खत्री ९८६११०९५१८ र सहयोग अभियानका संयोजक हरिबहादुर खत्री ९८५१२०५९११ मा सम्पर्क गर्न सकिनेछ ।