बागलुङ - राष्ट्रपती रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पुजा अर्जना गरेका छन । बुधबार देखी सञ्चालन हुने गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ आएका पौडेलले मन्दिरमा विधिपुर्वक पुजा अर्जना गरेका हुन । विहान करिब १०.४५ को समयमा पौडेलले मन्दिरमा पुजा अर्जना गरेको कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
पौडेल कालिका भगवतीको मुल गेटबाट पैदलै हिँडेर मन्दिर दर्शन गर्न पुगेका हुन । यस अघिका राष्ट्रपती विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली लगायतका केही नेता भने मन्दिर परिसरमा नै गाडी लगेर दर्शन गरेका थिए । पौडेलले बुधबार नै बागलुङ नगरपालिका—४ कुँडुलेमा रहेको शालिग्राम संग्राहलयको अवलोकन गरेर बागलुङ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । पौडेल दिउँसो १ बजे महोत्सवको उद्घाटन स्थल धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा पुग्ने कार्यक्रम रहेको छ ।