बागलुङ । नेपाली काँग्रेस बागलुङका नेता कार्यकर्ताले पार्टीलाई सुधार गरेर जनजीविकाका सवालमा जोडेर नजाने हो भने अस्तीत्व संकटमा पर्ने देखिएको बताएका छन् । बुधबार नेपाली काँग्रेस बागलुङको आयोजनामा बागलुङमा आयोजित नेपाली काँग्रेसको विशेष आन्तरिक अभियानमा सहभागी नेता कार्यकर्ताले पार्टीलाई आम नागरिकसंग जोड्न सबैले भूमिका खेल्नुपर्ने बताए । अहिले पार्टी कार्यकर्तामा निराशा र जनतामा वितृष्णा पैदा भएकाले जनताको सुख दुःखको साथीको रुपमा पार्टीलाई अगाडि बढाउन नसकिए आगामी दिनमा थप समस्या सिर्जना हुने उनीहरुको भनाई थियो ।
‘हिजो हामीले स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनमा गठबन्धन गरेर गयौं त्यसले केही लाभ त भयो होला तर दीर्घकालीन रुपमा पार्टीलाई ठूलो क्षति भएको छ,’ कार्यक्रममा सहभागीले भने,‘पार्टी संगठनमा समस्या देखिएको छ । साथीहरु विचलित भएर कतिपय अन्य पार्टीमा जानुभएको छ । कतिपय साथीहरु निश्क्रीय हुनुभएको छ । यसले हामीलाई भोलीको दिनमा फेरी वैशाखी नटेकी निर्वाचिनमा उभिनसक्ने अवस्था देखिन्न । त्यसको समाधानका लागि चित्त दुःखाएका साथीहरुलाई पार्टी काममा फर्काउने र पार्टीलाई जनताको जनजिविकाको सवालसंग जोडेर मात्रै सम्भव छ ।’
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीलाई जनतासंग जोड्न नसकेको उनीहरुको गुनासो थियो । ‘निर्वाचन लड्नका लागि पार्टी चाहिने, निर्वाचन जित्नका लागि नेता कार्यकर्ताहरु परिचालित हुनुपर्ने, जनतासंग धाएर फकाएर जिताउनुपर्ने अनि पदमा पुगेपछि जनप्रतिनिधिहरु पशुपतिको साँढे जस्तो हुने चलन छ,’ कार्यक्रममा सहभागीले भने,‘यसले पार्टीलाई जनताबाट अझ टाढा पु¥याएको छ । नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नेपाली काँग्रेसको नीति सिद्धान्त र घोषणापत्रको आधारमा पार्टीलाई जनतासंग जोड्नेगरी काम गर्नु जरुरी छ ।’ उनीहरुले काँग्रेस नेता कार्यकर्तामा पार्टी अनुशासन क्षण हुँदै गएको गहिरो चिन्ता व्यक्त गरेका थिए ।
‘अहिले नेता कार्यकर्ता सबै क्षेत्रमा पार्टी अनुशासनको पालना गर्ने चलन हराएर गएको छ,’ उनीहरु भन्छन्,‘पार्टी संगठनमा आवद्ध भएपछि त्यसको गरिमा र मर्यादा कायम राख्नुपर्छ भन्ने विषयलाई गौण बनाउँदै लगिएको छ । यो गलत प्रवृत्तिको विकासले पार्टी जीवनलाई ठूलो धक्का पु¥याएको छ ।’ कार्यक्रममा बोल्ने अधिकाँस वक्ताले पार्टीले संगठनलाई बजबुत बनाउनका लागि सबै भातृ सुभेच्छुक संगठनहरुलाई चलायमान बनाउनुपर्ने, पार्टी नेता कार्यकर्तालाई योग्यता क्षमता अनुसारको जिम्मेवारी प्रदान गर्नुपर्ने, योगदानका आधारमा पार्टीमा मुल्याङ्कन हुने पद्धतिको विकास गरिनुपर्नेमा जोड दिएका थिए ।
नेपाली काँग्रेसको केन्द्रीय समितिमा पार्टी निर्माण र जनताको सवालमा बहस हुनुपर्नेमा गटगत छलफल बहस र आरोप प्रत्यारोप भएकोमा उनीहरु रोष प्रकट गरेका थिए । ‘यस पटक देश विदेशमा भएका नेपालीले काँग्रेस बैठकमा के हुन्छ भन्ने कुरा प्रत्यक्ष देख्न सुन्न पाए,’ उनीहरुले भने,‘त्यो बैठकमा जनताको सवाल पार्टी निर्माणको सवाल भन्दा म र मेरोे पक्षको मान्छे भन्ने विषयमा केन्द्रित भयो । यो दुःखद पक्ष हो ।’कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं विशेष अभियानका केन्द्रीय प्रतिनिधि हरिशरण नेपालीले नेपाली काँग्रेसलाई मजबुत र बलियो पार्टी बनाउँदै आगामी निर्वाचनमा एक्लै जनताको बीचमा जाने वाताबरण सिर्जना गर्नका लागि आन्तरिक पार्टी सुधारका लागि यो अभियान सञ्चालन गरेको बताए ।
उनले पार्टीलाई बलियो बनाउनका लागि वडा सम्मेलनदेखि उठेका विषयवस्तुहरु गाउँ नगर, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा छलफल गरेर नेपाली काँग्रेसलाई जनतासंग जोड्नेगरी कार्यक्रम ल्याउन अहिलेको अभियानले महत्वपूण भूमिका खेल्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्का, पूर्व जिल्ला सभापति एवं गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री दीपेन्द्रबहादुर थापा, पूर्व जिल्ला सभापति कुलराज पौड्याल, गोविन्द शर्मा कँडेल, हरिप्रसाद श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्यद्वय डिल्लीराम सुवेदी, दिलमाया पौवी, बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, तमानखोला गाउँपालिका अध्यक्ष एवं प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सभापति जोकलाल बुढा, महिला संघ केन्द्रीय सदस्य पार्वती आचार्य, नेपाल महिला संघ जिल्ला अध्यक्ष शकुन्तला शर्मा लगायत नेपाली काँग्रेसका जिल्ला पार्टी नेता कार्यकर्ता तथा भातृ सुभेच्छुक संगठनका गरी ३९ जनाले आफ्नो मन्तव्य राखेका थिए ।
गण्डकी प्रदेश प्रतिनिधिहरु पुस्पा शेरचन, रमेश पौडेल, अमृता बानियाँको उपस्थीतिमा भएको कार्यक्रम सहितको बैठकले पार्टीको आन्तरिक कार्ययोजना बनाई पार्टीका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला सभापति जितबहादुर शेरचनको अध्यक्षतामा सम्पन्न उक्त बैठकले वडा सम्मेलनको समीक्षा गर्दै हुन नसकेका वडाहरुमा थप समन्वय गरी वडा सम्मेलन गर्ने, पूर्व निर्धारित समय अनुसार पालिका सम्मेलन साउन २७ मै गर्ने र अन्यको हकमा तालिका संशोधन गरी भदौ २४ गते वीपी जयन्तीका दिन प्रदेश सभा क्षेत्रीय सम्मेलन, भदौ २९ गते प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन र असोज ६ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले बताए ।
मध्य वर्षातको समय भएकाले जनुसुकै समय विपदका घटनाहरु हुनेसक्ने भएका त्यस्तो अवस्थामा पार्टीका सबै तहका प्रतिनिधिहरु, जनप्रतिनिधिहरुलाई उद्दार, राहत र पुनस्थापनामा जुट्न आग्रह गर्दै गाईवस्तुमा देखिएको लम्फी स्कीन रोगविरुद्धको भ्याक्सिनको उचित व्यवस्था मिलाउन र प्रभावकारी रुपमा लाग्न जनप्रतिनिधि सहित सम्बन्धित सबैलाई आग्रह गर्ने निर्णय भएको अर्का जिल्ला सचिव गण्डकी थापा अधिकारीले बताईन् ।