नेविसंघको बागलुङको अध्यक्षमा सुवेदी, केन्द्रीय अध्यक्ष शेर्पा भन्छन् ‘यो विधान सम्वत छैन’

  • साउन २, २०८२

केन्द्रीय अध्यक्ष शेर्पा भन्छन् ‘यो विधान सम्वत छैन’ 

बागलुङ -  नेपाल विद्यार्थी संघ बागलुङको अध्यक्षको जिम्मेवारी दिपक सुवेदी दिईएको छ । जिल्लामा रहेका नेविसंघका क्रियाशिल नेताहरुको भेलाले सुवेदीलाई अध्यक्षमा चयन गरेको नेविसंघका केन्द्रीय सदस्य श्रीकृष्ण पौडेलले बताए । गत स्ववियु निर्वाचनमा धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु सभापतीका नेविसंघका उम्मेदवार सृष्टी आचार्यले पराजय भोग्नुपरेपछि नैतिकताको आधारमा भन्दै यस अघिका जिल्ला अध्यक्ष विशेष पराजुलीले राजिनामा दिएपछि जिल्ला अध्यक्ष खाली रहेको थियो । जिल्लामा उपलब्ध नेविसंघका नेताहरुको भेलाले सुवेदीलाई अध्यक्ष बनाउने निर्णय गरेको केन्द्रीय सदस्य पौडेलले बताउँछन । 
शुक्रबार केन्द्रीय सदस्य पौडेल सहित अर्का केन्द्रीय सदस्य दिनेश पन्त बलराम रिजाल निवर्तमान जिल्ला अध्यक्ष विषेश पराजुली विद्यार्थी नेताहरु कृष्ण शर्मा रिजाल, विष्णुराज  पौडेल, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपाध्यक्ष सुनिल सापकोटा, सचिव सचिन हरिजन, सहसचिव सुन्दर आचार्य, विद्यार्थी नेता सुनिल गौतम, अनिश शाही र सन्देश सापकोटा लगायतका १३ जना नेताहरु उपस्थिती रहेको भेलाले सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।  
भेलाले नेपालको राजनितिक परिवर्तनका निम्ती लोकतान्त्रिक सामाजिक तथा शैक्षिक आन्दोलनमा नेतृत्व गर्ने संगठन नेविसंघ भएको र केही महिना देखी जिल्ला कार्यसमिति नेतृत्व विहिन भएका कारण संगठनलाई गतिशिल बनाउनका निम्ती सुवेदीलाई जिम्मेवारी दिने निर्णय गरेको केन्द्रीय सदस्य पौडेलले बताए । ‘नेविसंघको जिल्ला समिति नेतृत्व विहिन भयो, कुनै विद्यार्थी केन्द्रीत गतिविधि पनि हुन सकेन केन्द्रीय सदस्य पौडेलले भने,–‘संगठनलाई गतिशिल बनाउनका निम्ती सुवेदीलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । उहाँकै नेतृत्वमा नेविघको विधानमा टेकेर केन्द्रीय समितिको निर्णय बमोजिम अगामी मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।’  सुवेदीकै नेतृत्वमा जिल्लाका क्याम्पस समिति, गाउँ नगरपालिका समिति गठनको प्रक्रिया पनि तत्काल  सुरु गरी संगाठनिक गतिवधिलाई थप प्रभावकारी तथा गतिशिल बनाउने भेलाले निर्णय गरेको पौडेलले बताए । 
आफुले राजिनामा दिए पछि जिल्लामा अध्यक्ष पद खाली रहेको र संगठनलाई चलयमान गराउन केन्द्रीय सदस्यहरु सहितको भेलाले सुवेदीलाई जिम्मेवारी दिईएको निवर्तमान अध्यक्ष विशेष पराजुलीले बताउँछन । उनले विधान सम्वत भन्दा पनि जिल्लामा नेतृत्व नै खाली भएका कारण यो कदम चालिएको बताए । ‘जिल्ला नेतृत्व विहिन भयो, केन्द्रले जिम्मेवारी तोकेपनि पार्टी केन्द्रीय समिति यसलाई बैधता नदिने निष्कर्ष निकालेको छ, पराजुलीले भने,–‘सुवेदी धौलागिरी बुहुमुखी क्याम्पसको इकाई अध्यक्ष  थिए उनले स्ववियु सचिव सचिन हरिजनलाई कार्यबहाक दिए पश्चात नेविसंघका नेताहरुकै भेलाले जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । ’
हाल सम्मको अभ्यासमा नेविसंघको जिल्ला अध्यक्ष अधिवेशन वा केन्द्रीय अध्यक्षले मनोनित गर्ने गरिएता पनि यस पटक भने जिल्लाका विद्यार्थी नेताहरुको भेलाले जिल्ला अध्यक्षको जिम्मेवारी तोकेको हो । 
विधान सम्वत छैन केन्द्रीय अध्यक्ष शेर्पा
यस विषयमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जिल्लाका केही विद्यार्थी नेताकोे भेलाले जिल्ला अध्यक्षको जिम्मेवारी  तोक्ने विधान सम्वत नभएको बताए । ‘भेलाबाट जिल्ला अध्यक्ष तोक्ने विधान सम्वत छैन, कि अधिवेशन हुनुपर्छ कि केन्द्रले जिम्मेवारी दिने हो अध्यक्ष शेर्पाले भने,–‘भेलाबाट बनाईएको जिल्ला अध्यक्ष विधानत नभएको हुँदा आधिकारिक पनि हुँदैन । यस विषयमा पार्टीसँग समन्वय र परामर्श गरेर छिटै टुंगाउने छौं ।’
यस विषयमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले भने कुनै जानकारी नभएको बताएको छ । जिल्ला सचिव हरिहर शर्माले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताए भने सभापति जितबहादुर शेरचनलाई सम्पर्क गर्दा उनको टेलिफोन रिसिभ भएन । 
अध्यक्ष सुवेदी धौलागिरी बहुमुखी क्याम्पसको पूर्व स्ववियु उपसभापति हुन भने हाल नेविसंघको इकाई सभापति हुन । इकाई सभापतिको जिम्मेवारी केन्द्रीय अध्यक्ष शेर्पाले नै दिएका थिए । सुवेदी गत स्ववियु निर्वाचनमा धौलागिरी बहुमुखी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार थिए । अन्तिम समयमा उनले नेविसंघका उम्मेदवार सृष्टी आचार्य समर्थन गरेका थिए ।  

 
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय