बागलुङ- बागलुङमा ईट्टा व्यवसाय गर्दै आएका व्यवसायी एकबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका—१२ घर भै हाल बागलुङ नगरपालिका ३ बस्ने ३७ बार्षिय केसीलाई शुक्रबार बागलुङ बजारबाट प्रहरीले पक्राउ गरेको हो । केसीलाई सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सदभाव खलबल पु¥याउने सामाग्रीहरु प्रकाशन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक सुनिल शर्मा चिलुवालले जानकारी दिए । केसीलाई बागलुङ नगरपालिका कार्यालयले सामाजिक सदभाव खलबलाउने कार्य गरेको भनि उनि विरुद्ध विद्युतिय कारोबार ऐन २०६३ बमोजिम कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङमा मुद्धा दायर गरेको थियो । पक्राउ परेका केसीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानको कार्य भै रहेको प्रहरी निरिक्षक चिलुवालले जानकारी दिए ।
गत भदौ १८ गते बागलुङ बसपार्कको उद्घाटन पश्चात बसपार्कमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनावरण गरेको शिलालेख घनले तोड्फोड गर्ने अभिव्यक्ति दिएपछि केसीलाई विद्युतीय ऐन अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बागलुङ नगरपालिकाले दिएको निवेदनको आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बागलुङ बसपार्कको उद्घाटनको विषयलाई दिएको अराजक अभिव्यक्तिले केसी आलोचित बनेका थिए । आफुलाई अभियान्ता समेत भन्दै हिड्ने केसीले भदौं २० गते बसपार्क नचलेको भन्दै बसपार्कमा राखिएको शिला तोडफोड गर्ने बताएपछि बागलुङ नगरपालिकाले बसपार्कको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो । अदालतले पक्राउ पुर्जी जारी गरेको दुई हप्तापछि प्रहरीले केसीलाई पक्राउ गरेको हो ।
केसीले भदौ २० गते फेसबुकमा स्टाट्स लेख्दै शिलालेख भत्काउन अव ढिला गर्नुहुदैन जागौ नागरिक भनेर अराजक अभिव्यक्ति दिएका थिए । सार्वजनिक सम्पत्ति तोड्फोड गर्ने उनको अभिव्यक्तिले समाजमा आतंक सृजना गरेको उनिमाथि आरोप छ ।
भदौ २१ गते एक सञ्चार माध्यममा समेत प्रतिकृया दिदै उनले भनेका थिए ‘प्रदेशका मुख्यमन्त्री आएर उदघाटन गरेको भएर प्रदेशको मुख्यमन्त्रीलाई चुनौती थपियो भन्ने लाग्दछ, उहाँले आएर जुन रिवन काटनु भयो, शिलालेखमा आफनो नाम लेखाउनु भएको छ, त्यो नामले उहाँलाई गिज्याई रहेको छ, आम बागलुङवासीलाई आव्हान गर्दछौ हामी, शिलालेखको जुन ताम्रापत्र छ त्यसलाई हामी फुटाईदिन्छौ ।
२०५८ सालमा बसपार्क निर्माणका लागि स्थानीय ३५ जना जग्गादाताले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए । तत्कालिन नगर प्रमुख जनक राज पौडेलको पालामा नगर विकास कोषबाट ५.५ प्रतिशत व्याजमा २० वर्षभित्र तिर्नेगरी विसं २०७४ मा नौ करोड ऋण लिएर बसपार्क बनाउने कार्य अगाडि बढे्को थियो । विसं २०७५ सालको असोजमा ठेक्कामा गएको बसपार्क विसं २०७८ सालको सुरुतिर निर्माण सम्पन्न भएको थियो । विगत एक वर्षदेखि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बसपार्क सञ्चालनको लागि पहल सुरु गरेका थिए । उक्त बसपार्क २३ वर्षपछि सञ्चालन आएको हो ।