बागलुङ - जिल्लाको गलकोट नगरपालिकामा फिजियो थेरापी मेसिन संचालनमा ल्याईएको छ । बैदेशिक रोजगारी र अध्ययनका लागि युकेमा रहेको गलकोटेहरुले आफ्नो जन्मभुमीमा रहेको नगरअस्पतालमा फिजियो थेरापी मेसिन सहयोग गरेका हुन ।
गलकोट समाज युकेको अगुवाईमा ७ लाख रुपियाँ बराबरको फिजियोथेरापी मेसिन अस्पतालका लागि हस्तान्तरण गरिएको छ । स समाजका सदस्य तथा शुभेच्छुक गरी ८० जनाबाट उक्त रकम संकलन गरि अस्पताललाई प्रदान गरिएको गलकोट समाज युकेका संस्थापक सचिव डा. पुष्पदत्त उप्रेतीले जानकारी दिए ।
नीति र कार्यक्रममा जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले स्वास्थ्य क्षेत्रमा धेरै लगानी समेत गरिहेको छ । फिजियोथेरापी सेवा विस्तार गर्न अस्पतालले यसअघि नै भौतिक पूर्वाधारको व्यवस्थापन समेत गरिसकेको छ । चालु आर्थिक वर्ष गलकोट नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा ४० लाख रुपियाँको लागतमा चार कोठा थप गरिएको छ ।
आगामी जेठ पहिलो सातादेखि फिजियोथेरापी सेवा दिने तयारी गरेको अस्पताललाई नगरपालिकाले फिजियोथेरापिस्ट सहित एक जना सहयोगीको व्यवस्था गर्ने नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । गलकोट नगरमा प्रवाह भइरहेको स्वास्थ्य सेवालाई दिगो र प्रभावकारी बनाउन सबैको साथ चाहिने गैरेको भनाइ छ ।
पहिलो चरणमा तीन शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिने अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए । फिजियोथेरापी मुख्यतया शरीरका मांसपेशी, जोर्नी, स्नायु र हाडहरूको समस्या समाधान गर्न प्रयोग गरिने भएकाले गलकोट, ताराखोला र बडिगाडका बिरामी यो सेवा लिन बागलुङ बजार पोखरा र काठमाडौंका अस्पतालमा धाउन नपर्ने बाध्यता हट्ने डा. पौडेलले बताए ।
वर्ष ३० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा दिएको नगर अस्पतालमा चालु वर्षको असोजदेखि फागुन मसान्तसम्म गलकोट नगर अस्पतालमा ५६ जना सुत्केरी भएका छन् । १६ जनाको शल्यक्रिया गरिएको हो । नगरपालिकाले दक्ष चिकित्सक, प्रसूतिकर्मीसहित उपकरण र पूर्वाधार व्यवस्थापन गरेपछि अस्पतालले गत असोजबाट शल्यक्रिया सेवा थालेको हो ।
विभिन्न संस्थाले नगर अस्पताललाई एक्सरे मेसिन, एम्बुलेन्स, आँखा उपचार केन्द्र लगायतमा सहयोग गरेका छन् । नगरपालिकाले स्वास्थ्य संस्थामै गएर नियमित गर्भ परीक्षण गर्नेलाई प्रोत्साहन भत्ता दिन थालेको छ । नियमित गर्भ परीक्षण गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा नगरपालिकाले एकमुष्ठ ४ हजार ६ सय र सङ्घीय सरकारको २ हजार गरी ६ हजार ६ सय रुपियाँ दिने व्यवस्था छ ।