बागलुङ -बागलुङ नगरपालिका—१३ पैयुँपाटामा रहेको बागलुङ नगर अस्पतालमा औषधी वितरण कक्ष फार्मेसी संचालन गरिएको छ । अस्पतालमा सोमबार देखी फार्मेसी सेवा संचालन गरिएको हो । नगरपालिकाको विउपूँजी कार्यक्रम अन्तरगत अस्पतालमा फार्मेसी सेवा संचालन गरिएको बताईएको छ । अस्पताल संचालन तथा व्यवस्थापन समितिको निगरानीमा चल्ने गरी सञ्चालनमा आएको फार्मेसीको औषधि उपभोक्ताले किन्दा ७ दशमलब ५ प्रतिशत छुट हुने अस्पतालका जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद शर्माले जानकारी दिए । फार्मेसीमा नेपाल सरकारले प्रदान गर्ने निःशुल्क औषधीको साथमा स्वास्थ्य विमामा पाईने सवै प्रकारका औषधी उपलब्ध हुने अस्पतालले जनाएको छ ।
फार्मेसीको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरको ग्रामिण भेगलाई लक्षित गरि स्थापना गरिएको अस्पतालले बलेवा क्षेत्रका आम नागरिकको स्वास्थ्य उपचारका लागि सहज बनाएको बताए । उनले अस्पतालबाट नयाँ—नयाँ सेवाहरुलाई क्रमशै विस्तार गरी यहाँका नागरिकलाई टाढाको स्वास्थ्य संस्था जानुपर्ने बाध्यतालाइ टार्न नगरपालिका तयार रहेको बताए । ‘अस्पतालको रुपमा सेवा संचालन भए सँगै थप सेवाहरु क्रमश विस्तार गर्दै लगेका छौं नगरप्रमुख श्रेष्ठले भने—‘सुविधान सम्पन्न भवन पनि निर्माणाधिनको क्रममा रहेको छ । यो काम सकिए सँगै अझै थप सेवाहरु विस्तार गर्दै जानेछौं । आफ्नै भवनबाट सेवा संचालन सँगै अस्पतालबाट स्वास्थ्य विमाका नियमित औषधी प्रदान गर्नुका साथै अस्पताललाई स्वास्थ्य विमाको प्रथम विन्दुको रुपमा विकास गर्ने प्रयास गर्नेछौं ।’ उनले अस्पतालको निर्माणको जिम्मा लिएको निर्माण कम्पनीलाई निरन्तर फलोअप गरी समयमा नै निर्माणकार्य सम्पन्न गराउन व्यवस्थापन समितिले पहल थाल्नुपर्ने बताए ।
साविकको पैयुँपाटा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी २०७८ भदौबाट नगर अस्पतालको रुपमा सेवा संचालन गरिएको थियो । अस्पतालमा १ जना मेडिकल अधिकृत, २ जना जनस्वास्थ्य निरिक्षक, १ जना स्टाफनर्स, १ जना ल्याब असिष्टेन्ट र ३ जना अनमी गरी ८ जना स्वास्थ्यकर्मीहरुले निरन्तर सेवा प्रदान गर्दै आएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले बताए ।
कुल १२ करोडको लागतमा १५ शैयाको नगर अस्पताल निर्माणको काम हाल सम्म ५० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनी जुगल विल्डर्सले जनाएको छ । अस्पताल भवन निर्माणको सम्झौता अवधी यही असार मसान्त सम्म भएता पनि पुन आउँदो २०८२ मसान्त सम्मका लागि थप गरिएको निर्माण कम्पनीले जनाएको छ ।
फार्मेसी उद्घाटन कार्यक्रम बागलुङ नगरपालिका वडा न.. १३ पैयुँपाटाका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता अस्पताल विकास समितिका सदस्य डा. रामबहादुर केसीको स्वागत र अस्पतालका जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सोही कार्यक्रममा पैयुँपाटाको सल्यानका घातक रोगबाट सुत्केरी अवस्थामा मृत्यु भएकी इन्द्रा नेपालीको छोरीका लागि संकलन गरिएको नगद ४८ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरिएको छ ।