बागलुङ । बागलुङमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम सामीको वार्षिक समीक्षा शनिवार सम्पन्न भएको छ । जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकामा संचालित कार्यक्रमको चालु आर्थिक वर्षमा भएको कामको समिक्षा गरिएको थियो ।
कार्यक्रममा आप्रवासी श्रोत केन्द्रबाट प्रवाह भएको सुचनाहरु, सिप तथा न्यायको लागि गरीएको काम, वित्तीय साक्षरता तथा मनोसासामाजिक परामर्श कक्षामा भएको प्रगती, वैदेशिक रोजगारी गरी फर्किएका रिर्टनी स्वंयसेवकहरु मार्फत प्रवाह भएको सुचनाहरुको कार्य विवरणको विषयमा छलफल गरिएको सामी कार्यक्रम बागलुङका संयोजक मिन प्रसाद उपाध्यायले जानकारी दिए ।
सामी कार्यक्रम अन्तरगत यस आर्थिक वर्षमा ७ हजार ८३ जनाले सूचना प्रवाह सेवा प्राप्त गरेका छन भने ३ हजार ९६१ जनाले रिटर्नी स्वयं सेवक मार्फत सूचना प्रवाह सेवा प्राप्त गरेका छन ।
सामी कार्यक्रम अन्तरगत निःशुल्क कानुनी सहायतका लागि ७५ वटा केश दर्ता भएकोमा यस वर्ष ३१ वटा समाधान भएको छ । यस कार्यक्रमको पहलमा बैदेशिक रोजगारीमा गएका र अपठ्यारोमा परेकाहरुलाई उद्धार गर्ने काम गर्दै आएको छ । समिक्षा कार्यक्रममा विभिन्न देशमा पुगेर फएिका र जाना लागेका साथै दलालीबाट ठगिएका सेवाग्राहीले सामी कार्यक्रम मार्फत आफुहरुमा ठुलो सहायता भएको बताएका थिए । कार्यक्रम मार्फत बैदेशिक रोजगारीमा जाँदा ठगिएकाको उद्धार गर्नुका साथै विदेश जाँदा अनिवार्य सिप सिकेर जान प्रेरित गर्दै आईएको छ । सामी कार्यक्रम अन्तरगत नै विदेश जानुभन्दा पहिले सिप सिक्ने १ सय ६ जना रहेको संयोजक उपाध्यायले बताए । कार्यक्रम मार्फत मनोपरामर्श सेवा प्रदान गरिएका ८८ वटा केश मध्ये ४२ केशहरु समाधान गरेर उनिहरुको सामान्य जिवनमा फर्काउन सफल भएको बताईएको थियो । गाउँ गाउँमा वित्तिय साक्षरता समेत संचालन गरिएको कार्यक्रममा हाल सम्म ३ सय ९५ लाभाम्वित भएको संयोजक उपाध्यायले जानकारी दिए ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा भएको समीक्षामा गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तिलक थापा, सहायक प्रजिअ चित्राङगत बराल, बागलुङ नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले सामी कार्यक्रमलाई स्थानिय तहले अपनत्व गर्दै संचालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
सामी कार्यक्रमका गण्डकी प्रदेशका शिव रेग्मी, उमाकला शर्मा लगायतले एक बर्षमा भए गरेका काम र त्यसले सुरक्षित बैदेशिक रोजगारीका लागि भएका क्रियाकलाप बारे जानकारी गराएका थिए ।
उक्त अबसरमा सामी कार्यक्रमबाट सहयोग पाएर बैदेशिक रोजगारीमा जाँदा ठगिनबाट बचेका, विभिन्न समस्यामा पर्दा सामीले सहयोग गरेका तथा बिदेशमा मृत्यु भएका परिवारले राहत तथा क्षतिपूर्ति पाएका घटना बारे पिडितले आफ्ना भनाई तथा अनुभव सुनाएका थिए ।