काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी छन् । जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजना गरेको जबजका ३ दशक विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै भण्डारीले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको बताएकी हुन् ।
एमालेमा जोडिदा आफूलाई गर्व महसुस भएको र आफ्नो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा नरहेको उनले बताइन् । भण्डारीले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको समेत जिकिर गरिन्।
राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा आफूलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएको र थप परिपक्व समेत बनाएको धारणा राखिन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति भएर करिब ७ वर्ष जिम्मेवारीमा रहँदा देश र जनताको हितलाई ध्यानमा राखेरै काम गरेको उल्लेख गर्दै भण्डारीले आफ्नो तर्फबाट राष्ट्र र नागरिकको स्वाभिमानमा कुनै पनि आँच आउने काम नगरेको जिकिर गरिन् ।
उनले आफू राष्ट्रपतिको भूमिकाबाट बाहिर निस्किएपछि विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तर्क्रिया गरेको गरेको र सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएको निष्कर्ष निकालेको बताइन् । भण्डारीले राजनीतिमा फर्किने घोषणा गर्दा हलमा तालीको गडगडाहटले स्वागत गरिएको थियो ।