बागलुङ । बागलुङमा संचालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले चरणवद्ध आन्दोलन गरेका छन । सहकारीमा बचत गरेको रकम हिनामिना पारेर संचालक फरार भए पछि बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन गरेका हुन ।
झण्डै दुई अर्व रकम हिनामिना पारेर भागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली डेढ महिना देखि बेपत्ता छन् ।
उनी बेपत्ता भएपछि सैयौं बचतकर्ताहरु आन्दोलित भएका छन । उनिहरुले न्याय माग्दै कहिले जिल्ला प्रशासन त कहिले प्रहरी प्रशासनमा धाएका हुन । पिडितहरुले फरार मेयर नेपालीलाई खोजी गर्न माग गर्दै सडकमा विभिन्न आन्दोलन गरेका छन । अधिकांश पीडितले नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गरेका छन् । आर्थिक अपराधको मुद्दा लगाएर इन्टरपोलमार्फत पक्राउ गर्न पनि उनीहरुले माग गरेका छन् । नेपालीलाई ल्याएर कारबाही गर्नुपर्ने, जायजेथाबाट भए पनि बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने बचतकर्ताको माग रहेको छ ।
बचतकर्ताले बागलुङ बजारमा विशाल जुलुस प्रदर्शन गरेका छन् । नगरप्रमुख नेपाली सहित संचालकहरुलाई तत्काल पक्राउ गरि कारवाहीको माग गदै बचतकर्ताहरुले बागलुङमा प्रदर्शन गरेका हुन् ।
विरोध प्रर्दशन सँगै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई संघर्ष समितिका अध्यक्ष दिलबहादुर कार्की सहितिको टोलिले ज्ञापनपत्र बुझाएका छन् । नेपालीलाई पक्राउ गरि तत्काल बचतकर्ताको बचत रकम फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष समितिले माग गरेको छ ।
जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए भने बचत रकम फिर्ता गर्न, देवकुमार नेपालीलाई गिरफ्तार गर्न नारा लगाएका थिए । ढोरपाटन नगरपालिका नगरप्रमुख समेत रहेका नेपाली गत जेठ ५ गते देखी सम्पर्कमा छैनन् । उनि सहकारीकै कारणले फरार भएको बुझिएको छ । सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।
बचतकर्ताको करिव २ अर्ब रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरीले इमेज सहकारीका सञ्चालक चित्र बहादुर भण्डारीलाई जेठ ३२ गते बुर्तिबाङ बजारबाट र कर्मचारी लालमती रोकालाई असार १ गते ताराखोलाबाट प्रहरीले पक्राउ गरेका थियो भने असार ११ गते इमेज बचत तथा ऋण सहकारी बागलुङका प्रबन्धक शक्ति किसानलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपालीलाई खोजी कार्य जारी रहेको छ । हाल सम्म बचत १ हजार ५३६ बचत कर्ताले उनि विरुद्ध उजुरी दिएका छन भने १ अर्व २८ करोड ८३ लाखको दाबी गरेका छन ।