बागलुङ - पटक पटक सहमती हुन नसकेको जिल्लाको काठेखोला गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ठाउँको ठुंगो लागेको छ । गाउँपालिकाको १७ अधिवेशनको तेस्रो बैठकले प्रशासकिय भवन गाउँपालिकाको वडा नं. ६ विहुँ सुल्डाँडाको आम्पाटामा निर्माण गर्ने गरी टुंगो लगाएको छ ।
गाउँपालिकाको प्रशासकिय भवन वडा नं. २ को अक्षेते बजारमा निर्माण गर्ने की वडा नं. ६ को सुल्डाँडामा निर्माण गर्ने भन्ने विषयमा स्थानिय र जनप्रतिनिधिकै मत बाझीदा हाल सम्म स्थानको टुंगाले लाग्न सकेको थिएन । विहिबारको बैठकले भने सर्वसम्मत टुंगो लगाएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । थापाका अनुसार प्रशासकिय भवन निर्माणको स्थानका लागि पटक पटक छलफल भएता पनि कठिनाई भएको थियो । बुधबार गाउँपालिका भित्रका सर्वदलिय संयन्त्रसँगको छलफल पश्चात विहिबार सर्वसम्मत स्थानको टुंगो लागेको हो ।
‘गाउँपालिकाको प्रशासकिय भवन निर्माणका लागि पटक पटक छलफल भयो, अघिल्लो पटकको जनप्रतिनिधिले पनि धेरै प्रयास गर्नुभएको रैछ, गाउँपालिका अध्यक्ष थापाले भने,–‘यस पटक पनि हामी कहाँ बनाउने भनेर गत असार १० गते बजेट ल्याएपछि गोप्य मतदान नै गरियो त्यसमा पनि दुई तिहाई नआएपछि रोकिएको थियो, गाउँपालिका भित्रका सवै राजनितिक दललाई एकै ठाउँमा राखेर छलफल गरेपश्चात यसको निचोड निस्केर गाउँसभाबाट निर्णय भएको छ ।’ सभाले वडा नं. २ को अक्षेते बजार क्षेत्र र वडा नं. ६ को सुल्डाँडा क्षेत्रलाई गाउँपालिकाको प्रशासनिक केन्द्र मान्ने गरेर निर्णय भएको थापाले बताए ।
गाउँपालिकाको भवन कहाँ बनाउने भनेर असार १० गतेको दोस्रो बैठकमा गोप्य मतदान समेत भएको थियो । सो दिन ४३ जना गाउँसभा सदस्य मध्ये ४० जना मात्र मतदानमा सहभागी थिए । जस मध्ये २५ जनाले सुल्डाँडा र १९ जनाले अक्षेते बजारका लागि मतदान गरेका थिए । उक्त दिन दुई तिहाई बहुमत पुग्न नसकेपछि सभा रोकिएर विहिबारका लागि तोकिएको थियो । गाउँपालिका स्थापनाकाल देखी नै प्रशासकिय भवन निर्माणका लागि हरेक वर्ष निति तथा कार्यक्रम र बजेटमा विनियोजन भएता पनि जग्गा व्यस्थापन र स्थानको टुंगो लाग्न नसक्दा भवन निर्माणको प्रक्रिया अगाडी बढ्न सकेको थिएन ।
गाउँपालिकाको प्रशासनिक भवनको केन्द्रका लागि वडा नं. १ देखी ४ सम्म पाला, भिमपोखरा, तंग्राम र धम्जाले अक्षेते बजार क्षेत्रलाई पहल गरेको थियो । वडा नं. ५ देखी ८, माथिल्लो विहुँ, तल्लो विहुँ, रेश र लेखानीले सुल्डाँडाका लागि पहल थालेको थियो ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुल्डाँडामै भवन निर्माण गर्ने माहोल निर्माण गरेका थिए । गाउँपालिकाको सेवा प्रवाहका लागि अति महत्वपूर्ण रहेको प्रशासनिक भवनकै विवाद अल्झिदा धेरै काममा बाधा पर्ने भएकाले दलले सहजीकरण गरेको छलफलमा सहभागी नेपाली काँग्रेस बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले बताए ।
दुईवटा स्थानमा छलफल भएको र सहमती हुन नसक्दा लामो समय देखी टुंगो लाग्न सकेको थिएन । गाउँपालिका भित्रका सवै राजनितिक दल र आम नागरिकसँगको छलफल पश्चात अक्षेते र सुल्डाँडा दुवै क्षेत्रलाई प्रशासनिक केन्द्र मान्ने गरी टुंगो लागेको वडा नं. १ का वडा अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक खड्क बहादुर थापाले बताए ।
स्थानको ठुंगो लागे सँगै अब गाउँपालिकाले आफ्नै प्रशासनिक भवन निर्माणको काम अगाडी बढाउने छ ।
भवन निर्माणका लागि ६ रोपनी जग्गा व्यवस्थापनको काम अगाडी बढेको छ । प्रतिरोपनी ७ लाख रुपैयाँका दरले स्थानियले आफ्नै पहलमा जग्गा व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि स्थान र जग्गाको विषयमा विवाद हुँदा पालिकाले आफ्नो स्थापना कालदेखि मासिक ७० हजारमा घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।