बागलुङ ! बाढीपहिरोले बागलुङका विभिन्न स्थानीय तहका ५९ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ ।
बाढीपहिरोले सबैभन्दा बढी विनाश निसीखोला गाउँपालिकामा निम्त्याएको छ । निसीखोला–४ मा २० कच्ची र २ पक्की घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार, बाढीपहिरोले निसीका ११ घर जोखिममा परेका छन् ।
पहिरोमा पुरिएर ४ वटा गोठ पूर्ण रूपमा र १ वटा गोठमा आंशिक क्षति भएको छ । प्रशासनका अनुसार, निसीखोला, तमानखोला, बडिगाड, काठेखोला गाउँपालिका, ढोरपाटन, गलकोट, बागलुङ नगरपालिकामा बाढीपहिरोले ठूलो क्षति पु¥याएको छ ।
तमानखोला गाउँपालिका–३ धमास्कमा पहिरोले २ घरमा पूर्ण रूपमा क्षति पु¥याएको छ । बडिगाड गाउँपालिका–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । वडा नं. ८ भिमगिठेका ३ घरमा आंशिक र २ गोठमा क्षति पुगेको छ ।
ढोरपाटन नगरपालिका–७ र १२ मा ३ घर पूर्ण र १ घरमा आंशिक रूपमा क्षति पुगेको छ । तमानखोला–४ सन्तरमा ८ घरमा पूर्ण क्षति पुगेको छ भने निसीखोला–१ मा तीन घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
गलकोट नगरपालिका–१ फैरसोतमा बाढीले २ पक्की घर, ३ कच्ची घर, २ होटल/रिसोर्ट र १ गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रशासनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
यस्तै बागलुङ नगरपालिका वडा नं. ३ र ९ मा दुई घरमा आंशिक क्षति पुगेको छ भने काठेखोला गाउँपालिकाका वडा नं. १, २, ६ र ७ मा एक घर, चार गोठमा क्षति पुगेको छ ।
तमानखोला गाउँपालिका वडा नं. ३ मा पहिरोका कारण ४१ वटा चौपाया मरेका छन् । तीमध्ये २ भैंसी, २ गाई, ४ गोरु, १ बाच्छो, १७ बाख्रा र १५ कुखुरा रहेका छन् । प्रशासनले क्षतिको विवरण सङ्कलन, राहत तथा उद्धारको काम भइरहेको जनाएको छ ।
ताराखोला, निसीखोला र तमानखोला गाउँपालिकामा गएको पहिरोमा पुरिएर १० जनाले ज्यान गुमाएका छन् । ताराखोलामा एक, निसीखोलामा पाँच र तमानखोलामा चार जनाको मृत्यु भएको हो । तमानखोलाको पहिरोमा एक महिला बेपत्ता छन् ।