जनस्वास्थ्य कार्यालय बागलुङको काम ९० प्रतिशत भौतिक प्रगती

  • असार २५, २०८३

बागलुङ-  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले असारको २४ गते नै चालु आर्थिक वर्षका लागि तोकिएका सबै काम सकेर आयव्याय र कार्यक्रमको प्रगती समेत प्रस्तुत गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यालयले वर्षभरी गरेका कामको समीक्षा, ती काम गर्दाको अनुभव आदानप्रदान र सरोकारवालाको साथ र सहयोगलाई सार्वजनिक गरेको हो ।

चालु वर्ष कार्यालयले विशेष अनुदानतर्फ वित्तिय ५७ दशमलब ३८ प्रतिशत प्रगती गर्दा भौतिक प्रगती ९० प्रतिशत पु¥याएको हो । त्यस्तै संघिय सशर्ततर्फ वित्तिय ६३ प्रतिशत प्रगती गर्दा पनि भौतिकतर्फ ९० प्रतिशत नै प्रगती भएको हो ।

विशेष गरी यो वर्ष बागलुङको ढोरपाटनमा दादुरा प्रकोपको रुपमा फैलिएपछि कार्यालयले आकस्मिक रुपमा खोप अभियान चलाउनुपरेको थियो । यो अभियानमा पनि पश्चिम बागलुङका ५ वटा पालिकाका ३२ हजार बालबालिकालाई खोप लगाइएको कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । ढोरपाटन नगरपालिकामा मात्रै ६ हजार ७५ बालबालिकालाई खोप लगाइएकोमा तमानखोला निसीखोला, बडिगाड र गलकोटमा पनि खोप लगाइएको हो । संक्रमण व्यवथापनसँगै सन् २०२६ मा दादुरा रोग निर्मुल पार्ने सरकारी योजनाका लागि समेत यो खोप अभियान उपयोगी भएको हो ।

चालु वर्षकै कार्यक्रममार्फत नियमिततर्फ जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिका गरी १४ हजार २ सय ५७ जना बालबालिकालाई आवस्यक पर्ने सबै खोप लगाएर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता र दिगोपना भएको घोषणा समेत गरिएको छ ।

कार्यालयले खोप बाहेक जिल्लाभर रक्तअल्पता भएका किशोरकिशोरीको पहिचान गरी उपचारको दायरामा ल्याउने, कुपोषण घटाउने र विद्यालयहरु पोषणमैत्री बनाउने कार्यक्रम समेत संचालन गरेको हो । चालुवर्ष बागलुङ नगरपालिकाबाट शुरु भएको यो अभियानमा ६ हजार २ सय ४२ बालबालिकाको रक्तअल्पता र पोषण परीक्षण गरिएको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । यो अभियानबाट बालबालिकामा परेको असरबारे पत्ता लागेको र आवस्यक उपचार पनि शुरु भएको खनाको भनाइ छ ।

कार्यालयले सबै स्वास्थ्य चौकीमा कोल्डचेन व्यवस्थापन भएको र आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन सम्बन्धी अभिमुखीकरण गरी खुला व्यवसाय नगर्न सचेत बनाएको समेत छ । स्वास्थ्य प्रगतीतर्फ ९० प्रतिशत उपलब्धी गरेको कार्यालयले मातृ तथा नवशिशु उपचारमा लगानी गरेको, किशोरकिशोरी परामर्श तथा वर्थिङ सेन्टर व्यवस्थापन चुस्त भइ शुन्य होम डेलीभरीको अभियानलाई अगाडि बढाएको समेत घिमिरेको भनाइ छ । क्षयरोग र कुष्ठरोग निवारणमा खोज र उपचारको दायरामा ल्याउने जस्ता काम भएको हो । एआइमार्फत खोजी गर्दा ढोरपाटन नगरपालिकामा ८ जना, बडिगाड र निसीखोलामा एक÷एक जना गरी १० जना क्षयरोगी भेटिएको र उनीहरुलाई उपचारको दायरामा ल्याइसकिएको पनि शर्माले जानकारी दिए । कार्यालयले चालु वर्षको सबै काम सकेर पारदर्शितासहित सबै क्रियाकलाप पनि सार्वजनिक गरिसकेको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य दिंदै सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले साझा अभियानमार्फत स्वस्थ्य नागरिक बनाउने अभियान सफल पार्न आग्रह गरे । साथै उनले काम के भयो भन्दा पनि नागरिकले सेवा पाए नपाएको विषय महत्वपुर्ण भएको पनि उनले बताए ।

कार्यालयका प्रमुख प्रविण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले एचआइभी एड्स विरुद्दको उपचार, भेदभाग र लान्छाना विरुद्वका गतिविधि संचालनबारे प्रस्तुती गरेका थिए । कार्यक्रम जनस्वास्थ्य निरीक्षक समिता घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया