नेपाल उत्कृष्ट टिम बन्नुपर्छ - ज्ञानेन्द्र मल्ल

  • असोज ६, २०७८

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले आईसीसीको एसोसिएट देशहरुमा नेपाल उत्कृष्ट टिम बन्नुपर्ने बताएका छन् ।

ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर मंगलबार बिहान नेपाल आइपुगेका उनले पत्रकारसँगको कुराकानीमा त्यसका लागि धेरै प्रतिस्पर्धात्मक खेल आयोजना हुनुपर्ने बताए ।

‘अब धेरै भन्दा धेरै खेल हुनुपर्छ । खेल भएर मात्र हुँदैन प्रतिस्पर्धात्मक गेम चाहिन्छ’ मल्लले भने, ‘एसोसिएटमा सर्भाइभ गर्ने भन्दा डोमिनेट गर्ने हुनुपर्छ त्यसका लागि धेरै भन्दा धेरै म्याच चाहिन्छ ।’ मल्लले ओमानले पछिल्लो पटक मुम्बईको रणजी टिमसंग खेलेको उदाहरण दिँदै प्रतिस्पर्धात्मक खेलले टिम बलियो हुने बताए । ‘हामीसंग सिरिज खेल्नुअघि ओमानले मुम्बईको रणजी टिमसंग ४ ओडीआई र २ टी-२० आई खेल्यो । अब श्रीलंकासंग दुई टी-२० आई खेल्दैछ । भनेपछि प्रतिस्पर्धात्मक खेलबाट धेरै कुरा सिक्न पाइन्छ । खेलाडी रोटेट गर्न पाइन्छ । त्यो अनुभवले गर्दा सजिलो हुने हो’ कप्तान मल्लले भने ।

तीन खेल जित्ने योजना थियो

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले ४ खेल खेल्दा २ खेल जित्यो भने दुई खेलमा पराजित भयो । कप्तान मल्लले ३ खेल जित्ने लक्ष्य राखे पनि असफल भएको बताए । नेपालले अमेरिका र ओमानविरुद्धको एक-एक खेल जित्यो भने एक-एक खेल गुमायो । यसअघि २०२० फेब्रुअरीमा नेपालमै भएको लिग- २ मा नेपालले अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो भने ओमानसंग दुई खेल हारेको थियो । तर यस पटक नेपालले ओमानलाई उसैको मैदानमा एक खेलमा पराजि गर्‍यो । कप्तान मल्लले पनि लामो समयपछि ओमानलाई हराउनु राम्रो कुरा रहेको पनि बताए । ‘राम्रो कुरा ओमानलाई हामीले धेरै पछि हरायौँ । युवा खेलाडीको प्रदर्शन राम्रो रह्यो’ उनले भने । नेपालले सन् २०१३ पछि पहिलो पटक ५० ओभर क्रिकेटमा ओमानलाई पराजित गरेको हो । ओमानमा दुई खेल हारेकाले लिग टुका अरु खेल जित्नुपर्ने दबाब बढेको मल्लले बताए । ‘क्लोज गेम गुमाउन पुग्यौँ । त्यसले असर नगरोस् भन्ने हो । एउटा खेल पनि महत्वपूर्ण हुन्छ । ओमान र अमेरिका टपमा भएकोले पनि यो जित महत्वपूर्ण छ’ उनले भने । युवा खेलाडीको प्रदर्शन सकारात्मक कप्तान मल्लले ओमानमा नेपाली युवा खेलाडीले राम्रो प्रदर्शन गरेको भन्दै तारिफ गरेका छन् । ‘खुशी हुने कुरा योङ खेलाडीहरु जसमा एक दुई वर्षदेखि इनभेस्ट गरेर राखेका थियौँ त्यो रिजल्ट विस्तारै देखिराछ । जस्तो कुशल भुर्तेल, आसिफ शेख, रोहित, गुलशन झा, विक्रम सोबले राम्रो खेले’ उनले भने । मल्लले नेपाली खेलाडीमा अझै अनुभव भने नपुगेको र म्याच एक्सपोजर थप चाहिने बताए । ‘अझै ल्याकिङ भनेको एक्पिरियन्स (अनुभव) पुगेको छैन । गेम सिच्युएसन कसरी लिएर जाने, दबाब कसरी झेल्ने भन्ने म्याच एक्सपोजर चाहिन्छ अझ पनि भन्ने देखियो ।‘ प्रशिक्षकको समय छोटो भयो नेपालले अन्तिम खेलमा ओमानलाई ७ विकेटले सहजै पराजित गर्दै प्रशिक्षक डेभ वाटमोरलाई बिदाई उपहार दियो । ओमान पुगेपछि वाटमोरले सिरिज सकिएपछि लागु हुनेगरी क्यानमा राजीनामा पठाएका थिए । गत पुषमा एक वर्षका लागि नेपालको प्रशिक्षक नियुक्त भएका उनले पूरा अवधी नसबी बीचैमा नेपाल छाडेर गए । यस बीचमा नेपालले टी-२० अन्तर्राष्ट्रिय सिरिजमा ५ खेल खेल्यो भने ओमान टुरमा त्रिकोणात्मक सिरिजमा ४ र त्यसअघि पपुवा न्युगिनीसंग २ खेल गरी ६ ओडीआई खेल्यो । उनको प्रशिक्षणमा नेपालले ८ खेल जित्दा ३ खेल मात्र गुमायो । कप्तान मल्लले प्रशिक्षकसंगको समय छोटो भएको बताए । तर वाटमोरको प्रशिक्षणले राम्रो प्रभाव पारेको उनले बताए । ‘तर जति समय बिताउन पायौँ राम्रो भयो भन्ने लाग्छ । छोटो समयमा राम्रै गरेजस्तो लाग्छ’ उनले भने । प्रशिक्षकले बीचमै छाड्दा असर पर्ने भन्दै मल्लले अब योजना बनाएर अघि बढ्नुपर्ने बताए । अब नेपालले तत्कालै खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । तर आगामी फेब्रुअरीमा नेपालले युएई र पपुवा न्युगिनी सम्मिलित लिग २ कै सिरिज खेल्ने तालिका छ ।

प्रतिक्रिया